सिमकोटमा दीप प्रज्वलन सहित १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान प्रारम्भ
मंसिर ९, २०८२
सिमकोट । विश्वव्यापी रूपमा मनाइने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान हुम्लामा मंगलबार साँझ दीप प्रज्वलनसहित सुरु गरिएको छ । ‘प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ सिमकोटको एयरपोर्ट चोकमा आयोजित उद्घाटन कार्यक्रम सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले उद्घाटन गर्नुभयो ।
उपाध्यक्ष रोकायाले लैङ्गिक हिंसा अन्त्यका लागि समाजभरबाट जागरण, सहभागीता र प्रतिवद्धता अपरिहार्य भएको बताउँदै हरेक वर्ष नोभेम्बर २५ (मंसिर ९) देखि डिसेम्बर १० (मंसिर २४) सम्म विश्वभर अभियान मनाइने जानकारी दिनुभयो ।
सिमकोट गाउँपालिकाले यस वर्ष पनि अभियानलाई अझ प्रभावकारी बनाउन विभिन्न वडामा ¥याली, देउडा कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम तथा समुदायस्तरका छलफल संचालन गर्ने तयारी गरेको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख टेककुमार रेग्मी, गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशिला रोकाया भाम, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।