सिमकोट न्यायिक समितिले तीन मुद्दा फछ्र्यौट, आठ प्रक्रियामा
मंसिर ०८, २०८२
हुम्ला । सिमकोट गाउँपालिका न्यायिक समितिमा चालु आर्थिक वर्षमा दर्ता भएका ११ वटा मुद्दामध्ये ३ वटा मेलमिलाप प्रक्रियामार्फत फछ्र्यौट भएका छन् भने ८ वटा मुद्दा अहिले प्रक्रियामा रहेका छन् ।
न्यायिक समिति दर्ता अधिकृत गंगा बुढाका अनुसार फछ्र्यौट भएका मुद्दामा कामदारले ज्याला नपाएको, झैझगडा तथा लेनदेनसम्बन्धी विवाद समावेश छन् ।
उनको भनाइअनुसार दफा ४७ को उपदफा (१) र (२) बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरी मेलमिलापमार्फत समाधान गरिएको हो ।
उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुशिला रोकाया भामको अनुसार बाँकी ८ वटा मुद्दामा निवेदकहरूलाई तारेख तोकिएको छ । विपक्षी पक्षलाई म्याद जारी भइसकेको र जवाफ प्राप्त हुनेबित्तिकै मुद्दाको प्रकृतिअनुसार मेलमिलाप वा आवश्यक सिफारिस प्रक्रिया अघि बढाइने समितिको भनाइ छ ।