छ सयभन्दा बढीको आँखा परीक्षण, ६९ जनामा मोतीबिन्दु शल्यक्रिया

फिल्को मिसन

मंसिर ८, २०८२
हुम्ला । हुम्लाको सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ जनाको आँखा परीक्षण गरिएको छ । तीन दिनको शिविरमा ६९ जनामा मोतीबिन्दु शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख बुम बोहराले जानकारी दिए ।
हुम्लाको नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिका लक्षित गर्दे शिविर सञ्चालन गरिएकोमा ती सबै शिविरमा गरी ६१२ जनाको परीक्षण र ६९ जनामा मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
शिविरमा आएका सेवाग्राहीलाई निःशुल्क आँखा परीक्षणसँगै आवश्यक औषधि वितरण गरिएको नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
उक्त शिविर नेपाल रेडक्रस सोसाइटी हुम्ला, नेपाल नेत्र ज्योति संघ हुम्ला र जिल्ला आँखा उपचार केन्द्रको समन्वयमा, रेडि आई फाउन्डेशनको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेशन नेपालका प्राविधिक सहयोगमा सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो ।
शिविरमा हुम्लाका विभिन्न स्थानबाट बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राहीको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमार्फत आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण सेवा प्रदान गरिएको छ । न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यक अनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको छ ।
हिमालय आँखा अस्पताल पोखराबाट डा. पराजुलीको नेतृत्वमा ८ जना प्राविधिकको टोली सिमकोट आएर तीन दिनसम्म शिविर सञ्चालन गरेको थियो । यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने मन्त्री बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस