निःशुल्क आँखा शिविर : पहिलो दिनमै २५ जनाको शल्यक्रिया, २८४ जनाको परीक्षण

फिल्को मिसन

मंसिर ६, २०८२
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा शनिबारदेखि सुरु भएको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन २५ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । पहिलो दिन २८४ जनाको आँखा परीक्षण गरिएको शिविरमा संलग्न वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले जानकारी दिए । मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिने सो शिविर सोमबारसम्म सञ्चालन हुने जनाएको छ ।


शिविर नेपाल रेडक्रस सोसाइटी हुम्ला, नेपाल नेत्र ज्योति संघ हुम्ला र जिल्ला आँखा उपचार केन्द्रको समन्वयमा, रेडि आई फाउन्डेशनको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेशन नेपालका प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो ।


आँखा उपचारका लागि सिमकोटमा विभिन्न ठाउँबाट बालबालिका, ज्येष्ठ नागरिक र आँखाका समस्या भएका सेवाग्राहीको उल्लेख्य उपस्थिति रहेको छ । शिविरमा आँखा परीक्षण, औषधि वितरण, मोतियाबिन्दु अपरेशन तथा चस्मा वितरण सेवा प्रदान गरिँदै आएको छ । न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यक अनुसार थप उपचार, अपरेशन र चस्मा वितरणको व्यवस्था गरिएको छ ।


शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट डा. अनिल पराजुलीको नेतृत्वमा ८ जनाको टोली सिमकोट पुगेको नेपाल रेडक्रस सोसाइटी हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिए । उनका अनुसार पहिलो दिन २५ जनाको शल्यक्रिया भइसकेको र बाँकी विरामीको अपरेशन आइतबार बिहान हुने छ ।


सहभागी संस्थाहरूको सहयोगमा सञ्चालन भइरहेको शिविरमा औषधि निःशुल्क उपलब्ध गराइएको छ भने सेवाग्राहीले खाना–बासको व्यवस्था स्वयं गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस