कर्णाली करिडोरको हुम्ला खण्ड बालुकुनामा सडक अवरुद्ध, दर्जनौं सवारी अलपत्र
कार्तिक ३०, २०८२
हुम्ला । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१, बालुकुनामा आइतबार दिउँसो २ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । चट्टानी भीरबाट ठूला ढुंगा खसेपछि यातायात सेवा ठप्प बनेको हो ।
स्थानीय प्रत्यक्षदर्शी तथा सञ्चारकर्मी नवराज महताराका अनुसार पाँच–छ वटा ठूलो ढुंगा सडकमा अड्किएर बसेका कारण दुवै दिशाबाट सवारीसाधनको आवतजावत रोकिएको छ । सडक खन्ने क्रममा चटानमा गरिएका विस्फोटपछि बाँकी ढुंगा अचानक खसेको आवाजले यात्रुमा एकछिन त्रास समेत पैदा भएको बताइएको छ ।
घटनाबारे सडक विभागको बाजुरा कार्यालयलाई जानकारी गराइएपछि आवश्यक मेसिन—जेसिबी र स्काभेटर—उपलब्ध गराई ढुंगा हटाउने प्रयास सुरु गरिएको विभागले जनाएको छ । मानविय क्षति भने नघटेको पुष्टि भएको छ, तर भीरको अवस्थाका कारण ठूलो मेसिन प्रयोग गर्नुपर्ने स्थिति छ ।
सडक अवरुद्ध भएपछि तीसभन्दा बढी सवारीसाधन दुवैतर्फबाट अलपत्र परेका छन् । लामो दूरीका यात्रु, बिरामी बोकेको एम्बुलेन्स, तथा खाद्यान्न र उपभोग्य सामग्री ढुवानी गर्ने ट्रकहरू समेत बाटोमै रोकिइरहेका छन् । स्थानीयहरूले बालुकुनामा ढुंगा खस्ने घटना वर्षैभरि दोहोरिने भएकाले जोखिम व्यवस्थापनका लागि सरकारले दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने माग गरेका छन् ।