आईतबारदेखि पाँच दिनका लागि सिमकोटमा बिधुत आपूर्ति बन्द
कार्तिक २३, २०८२
सिमकोट । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिधुत आपूर्ति गर्दै आएको हिल्दुम बिधुत वितरण केन्द्रले आइतबार बिहान ७ बजेदेखि पाँच दिनका लागि बिधुत आपूर्ति बन्द गर्ने भएको छ ।
पावर हाउसको इन्टेक, फरबे र ओभरफ्लो प्रणालीमा मर्मत कार्य गर्नुपर्ने भएकाले केन्द्रले अस्थायी रूपमा आपूर्ति रोक्ने निर्णय गरेको हो । वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार कार्तिक २३ गतेदेखि २७ गतेसम्म बिधुत सेवा पूर्ण रूपमा बन्द हुनेछ ।
शाहले भने, “मर्मतका क्रममा पाँच दिनसम्म सम्पूर्ण आपूर्ति रोक्ने निर्णय भएको छ। नियमित मर्मतपछि कार्तिक २८ गते साँझदेखि मात्र सेवा पुनः सुरु हुनेछ।”
बिधुत आपूर्ति बन्द हुँदा सदरमुकाम सिमकोट लगायतका क्षेत्र पाँच दिनसम्म अन्धकारमा रहने छन्। केन्द्रले यसबारेमा अग्रिम सूचना जारी गर्दै उपभोक्ताहरुलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
हाल हिल्दुम बिधुत वितरण केन्द्रबाट तीन हजारभन्दा बढी ग्राहक लाभान्वित छन्, जसमा कार्यालय, विद्यालय, संचाार,व्यवसायिक तथा घरेलु प्रयोगकर्ताहरू सबै प्रभावित हुने छन् ।