सिमकोटमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

फिल्को मिसन

कार्तिक २२, २०८२
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा शनिबारदेखि गाउँपालिस्तरीय ‘प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता’ सुरु भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुँदा यस वर्षदेखि गाउँपालिकाले आफ्नै स्तरमा अध्यक्ष कप सुरु गरेको हो।


गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार यो प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगिताअन्तर्गत ट्र्याक, फिल्ड र भलिबलसहित १३ वटा खेलहरू आयोजना हुने छन्।
आयोजक समिति र रामदेव माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र भण्डारीका अनुसार खेल आज बिहान ११ बजे उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले पानसमा दियो बाल्दै र ब्यानर उद्घाटन गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको थियो।

गाउँपालिकाका सातै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ — रामदेव मावि, रलिङ मावि, बालमन्दिर मावि, मानसरोवर मावि, कर्णाली मावि, कैलाश मावि र सैपाल मावि । भलिबल खेलमा छात्रा र छात्र दुवै तर्फबाट सातै विद्यालयका एक–एक टिम अनिवार्य सहभागी हुने व्यवस्था गरिएको छ। विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


प्रतियोगिताको पहिलो आयोजनाको जिम्मेवारी सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालयले पाएको हो। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया भाम, जिल्ला समन्वय समितिकी प्रवक्ता सरिता रावत, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस