वडा कार्यालय भवन बनाउने विषयमा विवाद
कार्तिक २१, २०८२
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ मा वडा कार्यालय भवन निर्माणको तयारीलाई स्थानीयवासीले तीव्र विरोध गरेका छन्। उनीहरूको भनाइमा वडा अध्यक्षले न त गाउँका बासिन्दा, न त वडा सदस्यहरूसँग समन्वय गरेर निर्णय गरेका छन् ।
विगत लामो समयदेखि टुलिङ गाउँबाट वडा सेवा प्रवाह हुँदै आएको छ। सो स्थान सम्पूर्ण स्थानीयका लागि सहज पहुँचयोग्य भए पनि वडा कार्यालय अब बाढी–पहिरोको उच्च जोखिमयुक्त चुक्याडी खोला किनारमा सार्ने योजना बनाइएको हो।
स्थानीय कविराज शाहीले भने, “सरकारी भवन टुलिङमै निर्माण हुनुपर्नेमा जोखिमपूर्ण चुक्याडी खोलामा सार्न खोजिँदैछ। त्यहाँ हरेक नागरिकले सास्ती भोग्नुपर्ने निश्चित छ।” उनका अनुसार सो ठाउँ विगतमा पटक–पटक बाढी र पहिरोले क्षति पु¥याइसकेको क्षेत्र हो ।
चुक्याडीबासीहरूले पहिल्यैदेखि प्रशासन र प्रदेश सरकारसँग बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्। सो स्थान हिउँदमा हिमपातका कारण छ महिनाभन्दा बढी बस्न अयोग्य हुने भएकाले भवन निर्माण अनुपयुक्त रहेको स्थानीयहरूको दाबी छ।
वडा सदस्य हीरा सिंहले पनि आफूहरूलाई जानकारी नदिइकन नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएकामा आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर पनि छलफलमा सामेल हुन नपाउनु गम्भीर कुरा हो।”
यसबीच, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि सो भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वरबहादुर सिंहले जानकारी दिनुभयो।
तर, वडा अध्यक्ष बलवीर शाहीले भने बजेट फिर्ता नजाओस् भनेर मात्र प्रक्रिया अघि बढाइएको बताउनुभयो। “निर्माण कार्य सुरु भए पनि अन्तिम स्थान टुंगो भइसकेको छैन,” उहाँले स्पष्ट पार्नुभयो।
स्थानीयवासीहरूले भने जोखिमयुक्त ठाउँमा सरकारी भवन निर्माण नगरी, सहज पहुँच र सुरक्षित स्थान टुलिङमै भवन निर्माण गर्न माग गरेका छन्।