सिमकोट विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणमा ढिलाइ

फिल्को मिसन

कार्तिक२१,२०८२
सिमकोट । सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहणको प्रक्रिया पुनः अन्यौलमा परेको छ । चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भए पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत नहुँदा काम अघि बढ्न सकेको छैन ।


नेपाल नागरिक उड्डयन प्राधिकरणको काठमाडौँस्थित प्रधान कार्यालयले विस्तारका लागि डिपिआर तयार गरे पनि स्वीकृति नदिँदा प्रक्रिया रोकिएको हो ।
जग्गा खरिद समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार, “डिपिआर पारित नभएसम्म विस्तार कार्य अघि बढाउन अनुमति छैन। बजेट आइसकेकोले अब मुख्य ध्यान डिपिआर स्वीकृत गराउनेतिर दिनुपर्छ,” उहाँले बताउनुभयो ।


प्राधिकरणको सिमकोट शाखाले जग्गा खरिद कार्य अन्तिम चरणमा पु¥याइसकेको थियो। सूचना प्रकाशनको तयारी भइरहेकै बेला केन्द्रबाट रोक लगाइएपछि सम्पूर्ण काम ठप्प भएको हो ।
विमानस्थल विस्तारका लागि ६०.८१ रोपनी जग्गा आवश्यक पर्नेछ, जसको मूल्य जिल्ला दररेट अनुसार प्रति वर्गमिटर रु. ६,२०० तोकिएको छ। सो क्षेत्रमा रहेका ९ वटा भवनहरू पनि अधिग्रहण सूचीमा पर्नेछन् । बजेट अभावका कारण लामो समयदेखि रोकिएको यो परियोजनाका लागि प्राधिकरणले गत साउन ३० गते २७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।


विस्तार सम्पन्न भएपछि हालको ७०० मिटर लम्बाइ भएको विमानस्थल १०३० मिटर पुग्नेछ (९०० मिटर रनवे सहित)। त्यसपछि २९ देखि ४५ सिट क्षमताका जहाजहरू पनि सहज रूपमा अवतरण गर्न सक्ने लक्ष्य लिइएको छ। हाल सिमकोटमा १४–१८ सिटका साना जहाजहरू मात्र अवतरण गर्न सक्छन्।


सिमकोट विमानस्थललाई कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार मानिन्छ। यसको विस्तारले हुम्ला र कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धन, व्यापार, र आवागमन सहजतामा ठूलो योगदान गर्ने स्थानीयहरूको विश्वास छ।
तर बजेट तोकिए पनि प्रक्रिया अघि नबढ्नु सरकारी ढिलासुस्ती र ब्यूरोक्रेसीको अर्को उदाहरण बनेको स्थानीयहरूले टिप्पणी गरेका छन् । उनीहरूका अनुसार, स्थानीय तयारी पूरा भइसकेको हुँदा अब केन्द्रले छिटो डिपिआर स्वीकृत गरी काम अघि बढाउनु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस