एन्फाको गेटमै झुण्ड्याए खेलाडीहरूले मेडल
कात्तिक २०, २०८२
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा प्रदर्शन गर्न पुगेका खेलाडीहरूले आफ्ना मेडलहरू गेटमै झुण्ड्याएका छन् । ए डिभिजन लिग यस वर्ष नगरी आगामी वर्ष मात्र गर्ने एन्फाको निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघ (ल्एब्ँ)को आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा परिसरमा प्रदर्शन गरेका हुन्।
खेल्न पाउने आफ्नो “आधारभूत अधिकार” को रक्षा गर्न सडकमा आउन बाध्य भएको खेलाडी संघले जनाएको छ। संघका अध्यक्ष विक्रम लामाले मेडलहरू त्यहीँ छाडेर जाने बताएका छन्।
“अब यो मेडल एन्फाले आफैं आएर लैजाओस्, हामीले यहीँ छाडेर जान्छौं,” लामाको भनाइ उद्धृत गरिएको छ।
खेलाडीहरूले पटक–पटक लिग स्थगित नगर्न आग्रह गरे पनि एन्फाले बेवास्ता गरेपछि प्रदर्शन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
एन्फाले यस वर्ष पुस महिनामा राष्ट्रिय लिग आयोजना गरी आगामी वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ, जसले खेलाडीहरूलाई असन्तुष्ट बनाएको हो।