विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री सहयोग
कार्तिक २०, २०८२
हुम्ला । जिल्लाको शिक्षा क्षेत्र सुदृढीकरणका लागि विभिन्न गैरसरकारी संस्थाहरूले निरन्तर सहयोग पु¥याइरहेका छन्। नेपाल सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा नीति लागू गरेसँगै सरकारी विद्यालयहरूले भर्ना, परीक्षा तथा पाठ्यपुस्तक शुल्क नलिने भएपछि, विद्यार्थीलाई अन्य आवश्यक सामग्री प्रदान गर्ने काममा ध्यान केन्द्रित गरिएको छ।
यसै सन्दर्भमा, गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोग र किर्डाक नेपालको सहकार्यमा सञ्चालित एकीकृत समुदाय परियोजना अन्तर्गत खार्पुनाथ गाउँपालिका–४ र ५ का विद्यार्थीलाई कक्षाअनुसार कापी, कलम, पेन्सिल, झोला र विद्यालय पोशाक वितरण गरिएको छ।
सामाजिक परिचालक ज्ञानबहादुर हमालका अनुसार, कार्तिक १८ र १९ गते आयोजित कार्यक्रममा नयाँ ६३ र पुराना १३४ गरी कुल १९७ जना बालबालिकाले उक्त सामग्री प्राप्त गरेका छन्।
त्यस्तै, खार्पुनाथ गाउँपालिका–१ देखि ३ का विद्यार्थीलाई कार्तिक २० गतेदेखि वितरण सुरु गरिने पनि उनले जानकारी दिएका छन्।