नेपाल रेडक्रस सोसाइटी हुम्ला जिल्ला शाखाको १९ औं वार्षिक साधारण सभा सम्पन्न
वैशाख १२ २०८२, शुक्रबार
हुम्ला । सिमकोट । नेपाल रेडक्रस सोसाइटी शाखा हुम्लाको १९औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा हुम्लाका सभापति गणेश बहादुर महतकोे अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्मा र रेडक्रसका केन्द्रीय सदस्य गोकुल बुढाको विशिष्ट अथिति रहेका थिए ।

साधारण सभामा जिल्लाभरी रहेका १२ ओटा उपशाखा मध्ये १० ओटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी शाखा हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिए । साधारण सभामा मन्त्री बोहराले पेश गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मन्दिर सिंहले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।

रेडक्रसका ७ सिद्धान्तमा रही धादिङ जिल्लाभित्र विभिन्न विपत्तिहरूमा सरकारको सहयोगी हातको रूपमा काम गरिरहेको रेडक्रस हुम्लाका सभापति गणेश बहादुर महतले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले बाढीपहिरो, आगलागी, हुरी बतास, हिमपातका, भुकम्प, सडक दुर्घटना लगायतका विकास निर्माण कार्यहरूमा समेत सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो ।
उक्त वार्षिक साधारणसभाले वर्षभरिका सेवाहरूको समिक्षा र प्राप्त गरेका उपलब्धिहरूको समिक्षा गर्दै भावि कार्यदिशा समेत तय गरेको छ । उक्त कार्यक्रममा रेडक्रस प्रमुख तथा प्रतिनिधी,पत्रकार,राजनैतिक दलका प्रतिनिधी,संघसंस्थाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

बार्षिक साधारण सभाले जिल्ला भरिका नयाँ आजिवन सदस्यहरुको प्रमारण पत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी शाखा हुम्लामा १२वटा उपशाखाहरू, १२ विद्यालयहरूमा जुरेस/युरेस क्रियाशिल छन् । यशस्कर सदस्य १, विशिष्ट सदस्य १, र आजिवन सदस्य ८ सय ७१ सदस्य छन् ।
