प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण

चैत २१, २०८१,विहीबार
प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन यही चैत १६ र १७ गते काठमाडौँमा सम्पन्न भयो । जनयुद्धबाट जन्मिएको सङ्गठनले गौरवपूर्ण इतिहास रचिसकेको छ । यस महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन गर्न सफल भयौँ । नेतृत्वले जबरजस्ती टीका लगाएर नेता घोषणा गर्ने परम्परा तोडिएको छ र पूर्ण लोकतान्त्रिक प्रणालीको सिद्धान्तअनुसार विधि स्थापित गरिएको छ ।
तर, व्यावहारिक हिसाबले आफ्नै साथीसँग स्वस्थ प्रतिस्पर्धा गर्दा केही ‘सिनियर’ तथा सहकर्मीहरूले विपक्षी दलसँग लड्दा बागी उम्मेदवारलाई गरिने भन्दा पनि नमिठो व्यवहार गर्नुभयो । निर्वाचनको अभ्यास नभएको, लामो समयसम्म सामन्ती सत्ता र संस्कृतिले गाँजेको हाम्रो समाजमा नेतृत्वले टीका लगाउने वा तोकेको व्यक्तिले हार्न नहुने मानसिकताको परिणामस्वरूप यस्तो भयो भन्ने मैले बोध गरेको छु । यो प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्छ । एउटै यात्रामा हिँड्ने कबुल गरिरहँदा कुनै पदमा एक कार्यकालका लागि जीत वा हार भनेको प्राविधिक मात्र हो । प्राविधिक रूपमा तत्काल जित्ने र हार्ने दुवैले जितेका हुन्छन् । यसरी महाधिवेशनले प्रत्याशीहरू मात्र होइन, नेतृत्वको पनि परीक्षा लिएको छ ।
पार्टी र संगठनको घेराभित्र रहँदा अङ्कगणित त एउटा निश्चित समयावधिलाई वैधानिकता दिने प्रक्रिया मात्र हो । यसमा आत्तिनुपर्ने कारण छैन ।
वास्तवमा नेतृत्वलाई अन्धभक्त रूपमा समर्थन गर्ने ‘गणेश प्रवृत्ति’ हुनुहुँदैन । जमिनमा टेक्ने, आधारभूत वर्गको हितमा काम गर्ने मुख्य उद्देश्य हुनुपर्छ । संस्थाभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास गर्नु हरेक सदस्यको अधिकार हो र यही अभ्यासमा म पनि सहभागी हुन पाउँदा हर्षित छु । हाम्रो सङ्गठनभित्र कम्तीमा पनि सदस्यहरूले नेता छान्ने विधि स्थापित गरेका छौँ । जुन सकारात्मक सुरुवात हो । सर्वसम्मतबाट नेता चुनिनु नै गलत हो भन्ने मेरो मान्यता भने होइन ।
महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्न यसपटक पनि हाम्रो नेतृत्वले प्रयास ग¥यो । तर, सहमति नजुटेपछि प्रतिस्पर्धा अनिवार्य भयो । महासचिव पदमा निर्वाचित भएका मेरा अनन्य मित्र मनोज घर्तीलाई हृदयदेखि नै बधाई तथा सफल कार्यकालको शुभकामना !
स्वच्छ प्रतिस्पर्धामार्फत निर्वाचित जो–कोही भए पनि एकअर्कालाई सहयोग गर्ने, संगठनलाई थप एकताबद्ध र सशक्त बनाउने, तथा संगठनको हितमा काम गर्ने हाम्रो साझा प्रतिबद्धता हो । यस प्रक्रियालाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद !
निर्वाचन प्रक्रियामा सहभागी भएपछि कसैलाई आरोप लगाउने, टीका–टिप्पणी गर्ने, असन्तुष्टि व्यक्त गर्ने वा दोष दिने पक्षमा म छैन । चुनाव स्वाभाविक रूपमा प्रतिस्पर्धात्मक हुन्छ— कोही विजयी हुन्छन्, कोही पराजित । सङ्गठनभित्र निर्वाचन लड्दा स्वस्थ, निष्पक्ष बनाउनुपर्छ भन्ने मात्रै मेरो मान्यता हो । संस्थागत,आधिकारिक, पार्टी हेडक्वार्टरको पक्षको भनेर सङ्गठनभित्र कसैलाई विशेष महत्त्व दिएर चुनाव लड्न दिनु हुँदैन । व्यक्तिगत रूपमा निर्वाचन लड्दा बागी मानेर संस्थागत धाँधली हुने रहेछ । जस्तो निर्वाचन प्रक्रियामा देखिएका केही घटनाहरू प्रतिनिधिहरूले राम्रोसँग हेरेका छन् ।
उम्मेदवारी सारेर पनि सर्वसम्मत प्रत्याशीलाई बाहिर रहने वातावरण बन्यो । नेतृत्वले तोकेको वा चाहेको व्यक्ति भन्दा फरक ढङ्गले उठेकाहरूलाई मत दिँदा पार्टी हेडक्वार्टरका विरोधमा उठेको खुलेआम फर्मान जारी गरियो । प्राविधिक हार स्विकार्न नसक्ने मानसिकता देखियो । तर अरू सङ्गठनको जस्तो बाटोमा प्रेस सेन्टर नेपाल गएन । सङ्गठनमा रहिरहँदा एक कार्यकाललाई नै अन्तिम मान्ने अदूरदर्शी सोच मसँग छैन ।
कार्यसमितिमा नरहे पनि पहिलेभन्दा अझ बढी सक्रिय हुनेछु । केही वर्षअघि मेरा अग्रज ध्रुव बुढाथोकीसँग प्रदेश अध्यक्ष पदमा निर्वाचन लडेँ । उहाँसँग झिनो मतान्तरले पराजित भएँ । तर, मैले उहाँलाई पूर्ण सहयोग गरेँ । उहाँकै सहयोगमा अगाडि बढेँ । उहाँले नेतृत्व सामु गएर मलाई महत्त्वपूर्ण भूमिका दिन प्रस्ताव गरिरहनुभयो । तत्काल मतमा हार्दा पनि विश्वास जित्न सकिन्छ । आफूले खोजेको भूमिका नपाउने बित्तिकै निराश हुने, निष्क्रिय बन्ने मेरो स्वभाव छैन । अझ सक्रिय भएर विश्वास जित्न म लाग्नेछु । जुन कुरा मैले विगतमा साबित गरिसकेको छु ।
प्रक्रिया जति महत्त्वपूर्ण हुन्छ, परिणाम पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । प्रक्रिया जति विश्वसनीय हुन्छ, परिणाम पनि त्यत्तिकै विश्वसनीय हुन्छ भन्ने कुरालाई हामीले आत्मसात् गर्नुपर्छ ।मैले आफूलाई भन्दा संगठनलाई सर्वोपरि मानेर श्रमजीवी, जनपक्षीय पत्रकारहरूको वास्तविक नेतृत्वदायी संस्था बनाएर अघि बढाउने मेरो प्रतिबद्धता निरन्तर रहनेछ ।
यस प्रतिस्पर्धामा मलाई मतदान गर्ने सम्पूर्ण आदरणीय मतदाताहरूलाई उच्च सम्मान व्यक्त गर्दछु । मतदान नगर्नेहरूसँग पनि विश्वास जित्न म निरन्तर प्रयास गर्नेछु । लोकतान्त्रिक विधिमा विश्वास राख्ने र नेतृत्व हस्तान्तरण प्रक्रियामा सकारात्मक भूमिका खेल्ने संगठनका संस्थापक तथा निवर्तमान अध्यक्षसहित सबै पदाधिकारीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । यस प्रक्रियाले मलाई अझ बढी मेहनत गर्ने प्रेरणा दिएको छ ।