पत्रकार सुरेश रजकको हत्या :दोषीलाई कडा कारबाहीको माग गर्दै हुम्लामा पनि विरोध प्रदर्शन

चैत १६,२०८१
हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाले पनि पत्रकारको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा ¥याली निकालेको छ । शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा हुम्लाका पत्रकारले प्रदर्शन गरेका छन् ।उनको हत्या र सञ्चारमाध्यममाथि लक्षित आक्रमणलाई लिएर देशभरका पत्रकारले विरोध जनाएका छन्।
उनीहरूले हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र प्रदर्शनका नाममा हुने यस्ता अराजकता तुरुन्त रोक्नुपर्ने माग राखेका छन् । मृत्यक रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज अपरान्ह पत्रकार महाँसंघको कार्यलय हुँदै कालीन्चोक भएर लोकतान्त्रीकचोकमा विरोध प्रदर्शन गरिएको थियो ।
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकार महासङ्घका अध्यक्ष राजन रावतले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू अर्जुन बोहरा,कर्ण रोकाया, उपाध्यक्ष शुरेस परियार,सचिव भक्तराज ऐडी, कोषाध्यक्ष मन्दिर सिंह लगायतको पत्रकाहरुको उपस्थिति रहेको थियो । बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिनु परेको जिल्ला अध्यक्ष रावतले जानकारी दिए ।