शहीदको सम्झनामा दीप प्रज्वलन हुम्लामा

जय भण्डारी

माघ १६ २०८१ बुधवार
हुम्ला । शहीदहरुको सम्झनामा हुम्लाको सदरमुकामा माथिल्लो बजार लोकतान्त्रि चोकमा दीप प्रज्वलन गरिएको छ। शहीद दिवसको अवसरमा बुधबार दीप प्रज्वलन गरेर देशका लागि आफ्नो प्राण आहुति गर्ने सहिदहरुको सम्झना गरिएको हो। जहानियाँ राणा शासनविरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका सहिदहरुको सम्झनामा विक्रम संवत् २००७ देखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।


शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ ।
शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ । तर व्यबहारमा भने लागू भएको छैन् ।


शहीदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा, राप्रपा हुम्लाका अध्यक्षय विकास महत, पत्रकार महासंघका जिल्ला अधिकारी राजन रावत लगायतले दिप प्रज्वलन गर्नुका साथै अन्य सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।


माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस