हिमपातले सेताम्मे बनायो सिमकोट (तस्बिरहरू)

फिल्को मिसन

माघ ३,२०८१ विहिबार
हुम्ला । विहीबार बिहान देखि हुम्ला सदरमुकाम सिमकोट हिमपातले सेताम्मे बनाएको छ । सिमकोट नजिका गाउँपालिकामा ५ इन्च हिउँ जम्मको छ भने उत्तरी नाम्खा गाउँपालिकामा एक फिटसम्म हिउँ परेको बताइएको छ।
मंगलबार वेलुका देखि मौसममा आएको फेरबदलले बाक्लो बादल लाग्नुको साथै विहीबार विहान १० बजे देखि हिमपात निरन्तर भईरहेको थियो ।
हुम्लामा यो वर्ष चौंथो पटक हिमपात भएको हो। हिमपातका खेतिपातीका लागि अनुकूल भएपछि किसानलाई राहत भएको छ।


यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ। हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ।
विहीबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ।
 यातायात साधान तथा उडान अबरुद्ध


विहीबार बिहानै देखी शुरु भएको हिमपातले सदरमुकामा सिमकोट नजिकका उतरी क्षेत्रका यातायात अवरुद्ध भएको छ । हिमपात पर्ने क्रम नरोकिएपछि सिमकोट– खार्पुनाथ सडक खण्ड र उतरी सिमकोट देखि हिल्सा सडक कर्णाली करिडोर खण्डमा चल्ने यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । सडकमै हिउँ जमेपछि यातायातका साधनका साथै माथिल्लोे क्षेत्रबाट विभिन्न सामग्री बोकेर हिडेका घोडा र खच्चड पनि रोकिएका छन् ।

हिमपात जारी रहेकाले यहाँको जनजीवन चिसोले प्रभावित भएको छ । जिल्लाका आन्तरिक घोडेटो बाटोहरु समेत अवरुद्ध भएको छ । हुम्लाको सदरमुकामा रहेको सिमकोट विमानस्थलमा हिमपातका कारण दैनिक हुने उडान समेत रोकिएको सिमकोट विमानस्थले जानकारी दिएको छ । आकाशे पानीको भरमा लगाएको अन्नबालीलाई भने हिमपातले राहत पुर्याएको छ ।


जिल्लाका ७ वटा स्थानीय तहका उतरी गाउँमा भने भारी हिमपात हुँदा दैनिक क्रियाकलापमा समेत समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । माथिल्लो हुम्लाका लिमिको जाँग हल्जी तिल मुचु,यारी,हिल्सा,याल्वाङ,चाला खगालगाउँ लगायतका विहीबार विहान अत्याधिक हिमपात शुरु भएको नाम्खा गाउँपालिका वडानं ६का अध्यक्ष पाल्जोर तामाङले बताए ।


हुम्लाको तल्लो भेगका ताँजकोट,अदानचुली,चंखेली र सर्केगाड गाउँपालिकामा कम हिमपात भएको छ । माथिल्लो हुम्लाको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ । चिसोका कारण एसिईई परिक्षा तयारी गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । पशुचौपायलाई चरिचरण गराउन पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस