हुम्लामा मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस

अर्जुन बोहरा

माघ २,२०८१, बुधबार
सिमकोट । हिमाली जिल्ला हुम्लामा २७ औं भूकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भने मूलनाराका जिल्ला विपत व्यवस्थापन समिति हुम्ला,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला, तिनैवटा सूरक्षाकर्मी र संचारकर्मीले बुधबार विहान ११ बजे हुम्लाको सदरमुकामा सिमकोटमा प्रभात फेरि, भूकम्प सुरक्षा प्रर्दशनी तथा भूकम्पबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।


जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्र सोसाइटी जिल्ला शाखाका सभापति गणेश बहादुर महतले भूकम्पजस्ता विपतीहरु कुनै पनि बेला आउन सकिने भएकाले त्यसबाट जोगिनका लागि हामी सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हामीले पनि घर बनाँउदा समान्य गल्ती गर्दा त्यसको परिणाम भोलि अर्कै हुन सक्ने भएकाले घर बनाउँदा भवनसंहिता अनुरुपको मापदण्डलाई पाल्ना गर्नुपर्ने बताउनुभयो ।


जिल्ला विपद व्यवस्थापन समिति तथा जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले सरकारले निधारण गरेको मापदण्ड अनुसार संरचना बनाउनु पर्ने र भवन संहिताअनुरुप भवन निर्माण गर्नुपर्ने काममा हामी सबै गम्भीर हुनुपर्ने आग्रह गर्नु भयो । उहाँले भूकम्पजस्ता विपत्तिहरुले समाजमा सिर्जित विभिन्नखालका समस्यालाई सम्बोधन गर्न हामी गम्भीर हुनु पर्ने बताए।


प्रजिअ पाण्डेले भूकम्पबाट विगतमा भएका क्षति र यसबाट बाँचनका लागि अपनाउनु पर्ने सावधानीका विषयमा सुरक्षा निकायाले आफनो प्रस्तुति गर्दै नेपाल भूकम्पको जोखिम रहेकाले हामी सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।


विसं १९९० को भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए । त्यसै गरि विसं २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६ सय ७० जनाको निधन भएको थियो भने ७ लाख भन्दा वढी आवासमा क्षति पुगेको थियो ।यस्तै गएको कार्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ,भने ठुलो संख्यामा भौतिक संरचनामा क्षति पुगेको छ ।


नेपाल अझै पनि ठुलो भूकम्पको जोखिममा रहेको अधिकारीहरूले बताउँदै आएका छन् । त्यसैले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्व तयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस