कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीहरुले दिए राजीनामा

फिल्को मिसन

साउन ७, २०८१ सोमबार
सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत हुन् ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरूले राजीनामा दिएका हुन् । उनीहरूले आजै मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन ।


मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए। यस्तै यसअघि नै बिना विभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा आफूहरू पार्टीबाट सहभागी भएको तर अहिले केन्द्रीय राजनीतिमा भएको फेरबदलले आफुहरु बाहिरिनुपरेको आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बताए ।
छोटो समयमा भए पनि प्रदेश सरकारमा हुँदा महत्त्वपूर्ण काम भने आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण लगायतको काम गर्ने सफल भएको मन्त्री केसीले बताउनु भयो ।


उहाँले आगामी दिनमा योजना बैङ्क निर्माण लागुगर्नुपर्ने र आन्तरिक श्रोतबाट आम्दानी बढाउने योजनाहरू ल्याउनुपर्ने सुझाव दिए । विगतमा धेरै बजेट भागबण्डा राख्ने प्रचलन रहेकोमा यो बर्ष रोकेको मन्त्री केसीले बताए । आगामी दिनमा माओवादी केन्द्रले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताए ।
कर्णाली प्रदेश सभा कुल ४०सिटमा कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना छन् भने एमालेका सभामुख सहित १० प्रदेश सभा सदस्य छन् । यस्तै राप्रपाका १ र नेकपा समाजवादीका १जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस