हिमपात हुँदा हवाई सेवा अवरुद्ध

फिल्को मिसन

माघ २१,२०८०
हुम्ला । कर्णालीका उच्च हिमाली क्षेत्रमा आइतबार बिहानैबाट हिमपात भएको छ । शनिबार राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर बिहानदेखि हिमपात भइरहेको छ ।लगातार हिमापत हुँदा
नेपालगञ्ज, सुर्खेतबाट कर्णाली प्रदेशका हुम्ला,जुम्ला,मुगु,डोल्पा र बाजुरा जिल्लामा निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो ।
हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।
नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले एसिइइ कक्षा लिँदै आएका मानसवसर माविका शिक्षक धन बहादुर ऐडीले बताए ।
बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा आधा इन्च हिउँ हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा ४ इन्च भन्दा बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए।
स्वास्थ्यकर्मी भण्डारीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए। चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए। चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको उनले जानकारी दिए। उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस