अध्यक्षको नेतृत्वमा सिमकोट बजारको ढल सरसफाई

माघ ३,२०८०
हुम्ला । सिमकोट गाउँपालिका वडा नं. ६को माथिल्लो बजारको कालिचोकमा आज सरसफाई गरीएको छ ।
सिमकोट बजारलाई सफा राख्न गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार बजार क्षेत्रका ढलहरुको सरसफाई गरिएको प्रवक्ता नन्द रावतले बताए । बजारलाई सफा र सुन्दर राख्ने उद्देष्यका साथ आज माथिलो बजारको कालिचोकको ढल सरसफाइ गरेको हो।
सिमकोट क्षेत्रको सडक तथा ढलको सरसफाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास आले र कार्यालय सहयोगी खटिएका थिए ।
बजारको कालिन्चोक, एकताचोक, लोकतान्त्रिक चोक र एर्पोट चोकमा बढी फोहोर हुनुका साथै यहाँका ढलहरु दुर्गन्धित हुने गरेकाले ढल सरसफाईमा जुटेको गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो । जिल्ला सदरमुकाम रहेको सिमकोट बजार क्षेत्रलाई सुन्दर र स्वच्छ राख्न पालिकाले सरसफाईमा जोड दिएको हो ।
सिमकोट गाउँपालिकाले यसअघि गरेको निर्णय अनुसार बजार क्षेत्रलाई सफा राख्न हरेक मङ्गलबार र शुक्रबार गरी साताको दुई पटक ट्रयाक्टरबाट फोहोर उठाउने कार्य हुँदै आएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस