राष्ट्रियसभा चुनावमा भोट नहाल्ने हुम्लाका माओवादी जनप्रतिनिधिको निर्णय

पुस २२,२०८० आइतबार
सिमकोट । हुम्लाका आठ जना जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने निर्णय गरेका छन् । टिकट वितरणमा नेताहरु हावी भएको भन्दै मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका हुन ।
सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सीट बाँडफाँड अन्तिम चरणमा पुगेकै बेला सरकारको नेतृत्वकर्ता दलका जनप्रतिनिधिले लिखित रुपमा गरेको यस्तो निर्णयले गठबन्धन दलहरुलाई ठूलो धक्का लाग्ने भएको छ ।
माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायालाई राष्ट्रिय सभाका लागि एकल नाम सिफारिस गरेको थियो ।
तर, माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको उल्लेख गर्दै यस पटक पनि हुम्लालाई बेवास्ता गरे मतदान प्रक्रियामै सहभागी नहुने निर्णय गरेका हुन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा शनिबार जनप्रतिनिधिको बैठक बसेको थियो ।
सो बैठकले १० जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थानमा हुम्ला हुँदा पनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा पारेको निष्कर्ष निकालेको छ ।
शनिबार भएको उक्त निर्णय माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत बुझाइसकेको छ ।
माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङ दम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।
माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सारेको छ ।