दशैँ नजिकै :सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

असोज २४, २०८०
हुम्ला । दसैँ र तिहार लाई लक्षितगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी असोज २१ गतेदेखि असोज २९ गतेसम्म सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका नायब सुब्बा नवीन आर्चायले बताउनुभएको छ ।
उहाँका अनुसार जिल्ला सदरमुकाम सिमकोट अन्य गाउँपालिकामा रहेका डिपोबाट खाद्यान्न बिक्री थालिएको छ ।
बडादसैँ र तिहार नेपालीको महान चाड भएकाले शाखाले सहुलियतको व्यवस्था गरेको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
शाखाबाट बिक्री हुने सबै प्रकारको खाद्यान्नमा प्रतिकेजी सात रुपैयाँ छुटमा बिक्री भइरहेको छ । लिमिटेड शाखा हुम्लाले वितरण गरिरहेको छुटको खाद्यान्नमा जिरा मसिनो चामल प्रतिकेजी ९५ रुपैयाँमा ८८ रुपैयाँ पर्नेछ । त्यसैगरी प्रतिकेजी ६८ मा बिक्री भइरहेको सोना चामलमा ६१ रुपैयाँ, मध्यम अरुवामा प्रतिकेजी ६७ बाट ६० रुपैयाँमा, अरुवा प्रतिकेजी ६२ बाट ५५ रुपैयाँमा बिक्री भइरहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । सिमकोट शाँखा बाट वितरण हुने १८ हजार ५ सय ७३ सर्वसाधारण, बजारवासी र कर्मचारी लाभान्वित हुनेछन् । एक जनाले सातदेखि १० केजीसम्म खाद्यान्न दिने गरेको छ ।
चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो रु ७ छुट दिएको छ ।