हुम्लामा हवाई उडान नियमित गर्न सर्वोच्चको आदेश

भाद्रा ५,२०८०
काठमाडौँ । हुम्ला जिल्लामा हवाई उडान नियमित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नियमनकारी निकायले १२ बजेपछि उडानमा प्रतिबन्ध लगाएपछि परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका लागि भन्दै हिमाली जिल्लाहरुमा मध्यान्ह १२ बजेपछि उडानमा प्रतिबन्ध लगाएपछि अधिवक्ता राम बहादुर शाहीले प्राधिकरण लगायत ९ वटा सरकारी संस्थाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । साउन ३२ गते दर्ता भएको रिटमा नागरिक उड्डयन प्राधिकरणले हवाई उडानमा निषेध गर्दा हुम्ला जिल्लाका बिरामी तथा अशक्तहरुको उपचारमा समेत समस्या परेको भन्दै शाहीले अन्तरिम आदेशको समेत मागदावी लिएका थिए ।
शाहीको रिटमा नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, सुर्खेत विमानस्थल नागरिक उड्डयन कार्यालय र सिमिकोट विमानस्थल नागरिक उड्डयनको कार्यालय, हुम्लालाई विपक्षी बनाएका थिए ।