पहिरोले सलीसल्ला सडक अवरुद्ध : बालुकुनामामै रोकिए मालवाहक ट्रक

साउन १०, २०८०
सिमकोट । साउन महिनाबाट सुरु भएको वर्षाका कारण अवरुद्ध सडक अझै खुल्न सकेका छैनन् । एक हप्तादेखि कर्णाली करिडोरको हुम्ला सडक खण्डको सर्केगार्ड गाउँपालिका–१ को खच्चदेखि सलीसल्लासम्मको सडक अवरुद्ध हुँदा मालवाहक ट्रक बालुकुनामा रोकिएका छन्।
खच्चमा माथिबाट आएको पहिरोले सडक पुरिँदा यातायातका साधन अवरुद्ध हुँदै आएका छन् । सर्केगार्ड गाउँपालिका–१ को तुम्च गाउँका स्थानीय लालधन छत्यालले खच्चदेखि सलीसल्लासम्मको सडक एक हप्तादेखि अवरुद्ध ४५ वटा मालवाहक ट्रक बालुकुनाका रोकिएको बताए।
ती ट्रक सबै सामान लोड भएर माथिल्ला हुम्लाका लागि सलीसल्ला आउन लागेका थिए। उनले खच्चको सडकमा ५० मीटर सडकमा पहिरो आएर सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। यतिबेला दैनिक दिन वर्षा भइरहकोले पहिरो जाने आउने गरेको बताए । सडक अवरुद्ध हुँदा एक हप्तादेखि मालवाहक गाडीहरु सडकमै अलपत्र परेका छन् भने स्थानीय बासिन्दाहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य बनएको छ ।
सुर्खेत र नेपालगञ्जबाट सलीसल्लाका लागि आएका गाडी बालुकुनामै रोकिने गरेका छन्। तत्काल पहिरो पन्छाएर सडक सुचारु गर्न सरोकारवाला पक्षलाई स्थानीयले माग गरेका छन्। सडक खुलाउने प्रयाय गरिएको भए पनि माथिबाट पहिरो खसि रहने भएकाले पहिरोले भासिएको सडक मर्मत गर्न समस्या भएको छ।
कर्णालीका करिडोर सडक अवरुद्ध भए पनि हालसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ।
त्यस्तै हुम्लाका सातै वटा गाउँपाकिाका ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ।
सवारीसाधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ । कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् ।