प्रकोपका रूपमा फैलिँदै ’लम्पी स्किन’, हुम्लामा मरे १२७ पशु

बैशाख२८,२०८०
हुम्ला । हिमाली जिल्ला हुम्लामा बैशाख पहिलो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ नामक रोगको प्रकोप फैलिरहेको छ । हुम्लामा दिन प्रतिदिन यो रोगको फैलावट बढिरहेको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई,जुमा,चौउरी, भैँसी,घोडा गधा र भेडाबाख्रा बिरामी पर्ने गरेका छन् ।
पशु व्यवयासयले नेपालगन्ज र सुर्खेत देखि छाडा पशुचौपाया हामी पाल्छौँ भन्दै २सय ४० भन्दा बढि पशु हुम्ला लगेपछि उक्त रोग चरमरुपमा फैलिएको हो ।
हुम्ला पशु सेवा कार्यालयका अनुसार नाम्खा,सिमकोट, खार्पुनाथ,चखली,सर्कगाडे,अचदचुली र ताँजकोट पालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ । हुम्लामा यही रोगका कारण केही चौपाया मरिसकेको पशु सेवा कार्यालयले जनाएको छ ।
लम्पी नामको छालाको संक्रमणले पशुहरु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा १२७ वटा पशु वस्तुहरु मरेका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ वटा गाइगोरुको मृत्यु भएको छ । भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली ५ र ८ वटा गाइगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताउनुभयो । हाल लम्पी छाला (स्कीन) रोग जिल्लाभर महामारीका रुपमा फैलिएको उहाँले बताउनुभयो ।
हुम्ला जिललाभर लम्पी स्किन रोगबाट हालसम्म १ हजार ६ सय ३९ वटा गाइगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका ९ सय २० वटा गाइगोरुमा यो संक्रमण बढी देखिएको छ । लम्पी स्किन संक्रमित भएका पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताउनुभयो ।
यस्तै संक्रमण देखिएका १ हजार ३ सय ७० गाइगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार ४ गाइगोरु, ३ हजार २ सय ३४ भैसी, ४० हजार ४२ भेडा, १ लाख ३८ हजार ९३ बाख्रा, चौरी ७ हजार २ सय ४६ र १ हजार ८ सय २० कुखुराको संख्या रहेको छ ।
रोग नियन्त्रणबाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताउनुभयो । हाल प्राथिक उपचारदेखि औषधि प्रयोग गरिरहेको बताउनुभयो । उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार नभएको पाइन्छ । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बताउनुभयो ।
पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका भएका छन् । यसरी लम्पी रोगबाट पशु वस्तु विरामी भएर मर्न थालेपछि आफुहरु सारै चिन्तीत भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताउनुभयो । रावलले भन्नुभयो, “रोगबाट चार माना दुध दिने दुधालु जुमा मरेको छ । अन्य गाइगोरु समेत विरामीमा पर्न थालेका छन् ।” यसरी गाइगोरु मर्दै जाने हो भने रोजीरोटी खोसिने अवस्था छ । उपचारका लागि विभिन्न निकायमा भनेपनि उपचार हुन नसकेको किसान रावलको भनाई थियो ।” प्रति जुवा अर्थात गाइको दुधाल अनुसार रु पचास हजार देखि एक लाखसम्म मुल्य पर्छ । यतिबेला लेख तिर चरनका लागि लगिएका गाइगोरुमा समेत यो रोग देखा परेको छ ।
यो जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका २ सय ४० वटा गाइहरुमा पहिलो पटक देखा परेको थियो । ती गाइ जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो ।
हुम्ला सहित यो रोग कर्णाली प्रदेशका मुगु र जुम्ला बाहेक अन्य आठवटा जिल्लामा फैलिएको छ ।
पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन्। यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।