जुम्लालाई स्याउबाटै समृद्धिको बनाउने : मुख्यमन्त्री शर्मा

बैशाख १२,२०८०
जुम्ला। मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई साँच्चिकै जुम्ला स्याउबाटै समृद्धिको जिल्लाका रूपमा विकसित गरिनु पर्ने बताउनुभएको छ ।
उहाँले स्याउसहित कृषि वन पैदावर नै कर्णालीको मुख्य आर्थिक स्रोत हुने भएकाले यस क्षेत्रमा लगानी आवश्यक भएकोमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र), जुम्लाले त्यहाँको विकास र समृद्धिको सम्भावनाको विषयमा गरिएको सर्वपक्षीय अन्तरक्रियामा हरेक किसानले कम्तीमा ५० हजार भन्दामाथि स्याउबाट नगद आम्दानी गर्न सक्ने बताउँदै स्याउमा राम्ररी लगानी गर्न थप पूर्वाधार तयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार भेटघाटमा उहाँले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन गर्नका लागि सबै पक्षको सहयोग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सङ्घीयताले गाउँमा सिंहदरबार आएको उदाहरण दिनुहुँदै उहाँले जुम्लामा सबै राजनीतिक दलको उपस्थितिमा विकासको बहस हुनु राम्रो हुने बताउनुभयो ।
मुख्यमन्त्री शर्माले कर्णाली आफ्नो आन्तरिक आम्दानीमा पछाडि भएकाले राजश्व बढाउन कृषि, वनपैदावर उद्योगलाई तत्काल उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले कर्णाली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधारको तयार भएकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री शर्माले कर्णालीको विकास र समृद्धिका लागि समाजवादको बहस पनि सुरु गर्न आवश्यक भएको भन्दै युवा र बुद्धिजीवी वर्गले बहस थाल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार ‘जुम्ला – सुनको थालीमाथि बलेको दियो’ संज्ञा गर्दै भाषाको जन्मस्थल मात्रै नभई भूगोल र उत्पादनको हिसाबले भरोसाको जिल्ला भएको बताउनुभयो ।
कर्णाली विकास आयोगका संस्थापक अध्यक्ष डा. कलबहादुर रोकायाले जुम्लाको राजनीतिक र भौगोलिक अवस्था, खस साम्राज्यदेखि हालसम्मको राजनीतिक तथा प्रशासनिक अवस्था र इतिहास, गरिबीको अवस्था, कृषि योग्य भूमि, वनजंगल, चरन क्षेत्र, हिमाल, चट्टान, खोला नालासहित सम्भावनाका स्रोत, हाल सडकको अवस्था, विद्युतको अवस्था, कुल सिञ्चित अवस्था, स्वास्थ्य लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेपछि सो कार्यपत्रमाथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका जुम्ला इन्चार्ज तथा पूर्वमन्त्री नरेश भण्डारीले सबै राजनीतिक दलहरू, सरोकारवाला निकायहरू एक जुट भएमा विकास र समृद्धि सम्भावना भएकाले साझा सुझाव सङ्कलन तथा अन्तरक्रिया गरिएको छ ।
कार्यपत्र माथि सुझाव दिँदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लाको विकास समृद्धिका लागि राजनीतिक दलहरू एक जुट भएर अगाडि लाग्न प्रेरित गर्ने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जस्ता संरचनाको स्थापना जुम्लामा भएको तर अहिले त्यहाँका केही बेथिति सुधार्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन सिंह कठायतले कर्णालीमा विकास र सम्भावनाका लागि सम्बन्धित कार्यालयगत दक्षताका आधारमा योजना निर्माण गरिनुपर्ने बताउँदै जिल्लाका साझा कामका लागि सबै दल र निकाय एकजुट हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका पार्टी सचिव धनकृष्ण पाण्डेले कर्णाली सरकारले नीति कार्यक्रम साझा ल्याएमा समृद्धि हुनेमा जोड दिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. मङ्गल रावलले जुम्ला कर्णालीमै भूगोल मिलेको जिल्ला, इतिहास बोकेको जिल्ला भएकाले चाहेपछि विकास गर्न सकिने सुझाव दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कर्णाली सरकारले बजेट बढाइनुपर्ने बताउनुभयो ।
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी, जिल्ला वन डिभिजन कार्यालयका प्रमुख दिनेश खत्री, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी, नेपाल विद्युत प्राधिकरणका प्रमुख नरेश रावत, पूर्वाधार विकास कार्यालयका प्रमुख हरि ओलीले धारणा राख्नुभएको थियो ।
यस्तै, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीकृष्ण देवकोटा, सामाजिक विकास कार्यालय प्रमुख तुलाराज चौलागाईं नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरीचन्द्र देवकोटा, जुम्ला बहुमुखी क्याम्पसका महेश नेपालीसहित विषय विज्ञबाट जुम्ला विकास र समृद्धिको अवस्था र सुझावहरू सङ्कलन गरिएको थियो ।