लामा समुदायमा माने पर्वको रौनक (फोटोफिचर)

माघ २५ २०७९
सिमकोट । हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा माने पर्वको रौनक बढेको छ ।
यस क्षेत्रमा बसोबास गर्ने मंगोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्दर्भलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यमबाट प्रस्ततु गर्ने कला हो ।बौद्धधर्मलम्बीहरु आस्था राख्ने बासिन्दाको आ–आफ्नै जातियभित्रको माने पर्व मनाएका छन ।
तीमध्ये गेलुक्पा,ञिङपा, लम्या, हिल्जोदुन, टुक्टुलुङ न्हिवा र चाँवा प्रमुख छन् ।प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक कुराको समयोजन गर्ने गराउने यो एक अति महत्वपूर्ण हिउँदे माने पर्व हो । यसले युद्धको विभिषिका देखि सामाजिक आचारविचार र मौसमी पात्राको रुपमा व्याख्या र विश्लेषण गरेको पाईन्छ । यस पर्वमा भोट साम्राज्यका पौराणिक तथा ऐतिहासिक ग्याल्बु नोर्जांङ र गेशरको महिमा गाइने गरिन्छ । विभिन्न पक्ष र नक्षेत्र मिलाएर विभिन्न समयमा मनाइने यो पर्व यही माघ शुक्ल पक्षका दिनमा हेप्का, गाडपारी, लिमाटाङ,बरागाउँ,तोरोप्रा,च्यादकु,केमी,खँगालगाउँ,बुराउँसे र दोजाममा यो पर्व मानाइन्छ ।
यो पर्वको पहिलो दिन देवीदेवताको पूजाआजा साथै विभिन्न झाँकीहरू प्रर्दशन गर्छन । यसमा काठको मुकुण्डो लगाएर हातमा लट्ठी समातेर नाचिने बाक्पा नाच, तिलिङ्गे नाच, ढालतरबार समातेर नाच्ने महाँकाल नाच, घोडा नाच, फुर्का नाच, महिलाले नाच्ने ठाइकोर नाच नाचिन्छ । यी सबै नाचमा बूढापाका अगाडिको लाइनमा लागेर पछि लागेका नयाँ पुस्तालाई सिकाउने गरिन्छ ।
यो पर्वमा विभिन्न प्रकारका खराब आत्मलाई टाढाटाढा भगाउनेदेखि गाउँको सुरक्षा कवचको रुपमा यो खेल खेलिन्छ । खुला खेलमैदान, धार्मिक स्थलबाट शुरु हुने खेल्ने, गीत गाउने तथा नाच प्रदर्शन गर्ने गरिन्छ । यसमा टाढाटाढा तथा छिमेकी गाउँबाट आएका मितमितेरी तथा इष्टकटुम्बलाई सम्मान र सौगातका साथ खुवाउने पियाउने गरिने छ ।
माघ महिना भरि विभिन्न गाउँका मान्यजनलाई मीठा खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । तामाङ,भोटे,व्याँसी, मगर र,लामा समुदयाका मानिसहरु परम्पराअनुसार छुट्टाछट्टै समयमा चाड मनाउँदै आएका छन् । मान्यजनबाट आशीर्वाद लिइसकेपछि दोस्रो दिनदेखि छिमेकी र नातेदारसहित गाउँका सबैलाई एकअर्काले निम्तो गरी मिष्ठान्न, मदिरा र मासु खुवाउने चलन छ ।
अविनाश लामा फिल्को मिशन अनलाइनका फोटो पत्रकार हुन ।