सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

मंसिर १३, २०७९ मंगबार
सिमकोट । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–१को सुनाखाडामा सडक निर्माणमा खटिएका नेपाली सेनाका एक अमलदारको मृत्यु भएको छ
कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडामा चट्टानी भीरमा विष्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर गम्भीर घाइते भएका सेनाका अमल्दार खेमराज पोखरेलको मृत्यु भएको हो ।
घटनास्थलबाट हेलिकोप्टर मार्फत उद्धार गरेर नेपालगञ्जस्थित सेनाको अस्पतालमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो।
बराह दल गुल्म रानीवनका गुल्मपति सेनानी सुरेन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै सेनाका अमल्दार पोखरेलको उपचारकै क्रममा मृत्यु भएको बताए।
गत आइतबार सडक निर्माण गर्ने कामदार र सेना मिलेर चट्टानी भीरमा विष्फोट गरिरहेको बेला मानिस आउजाउ कार्य बन्द गर्नका लागि ड्यूटीमा खटिएकै बेला विष्फोट भएको ढुङ्गा उछिट्टिएर पोखरेललाई लाग्दा लडेर घाइते भएका थिए।
३५ वर्षका पोखरेलको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको थियो। कालीबक्स गण सुर्खेतमा कार्यरत पोखरेल कर्णाली करिडोरको हुम्ला खण्डको उक्त सडक निर्माणका खटिँदै आएका थिए। नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको चट्टानी खण्ड निर्माणको जिम्मा लिएको छ ।