मौन अवधि सुरु, प्रचारप्रसार निषेध, मदिरामा प्रतिबन्ध

मंसिर २, २०७९ शुक्रबार
सिमकोट । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधि विहीबार राति १२ बजे मौन अवधि सुरु भएको छ ।
निर्वाचन ऐनबमोजिम मतदान हुनुभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ। उक्त अवधि सुरु भएपछि राजनैतिक दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्। स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन।
मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यो अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी गर्न नपाइने बताए ।‘कुनै पनि माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न पाइँदैन’, उनले भने, ‘मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री पूर्णरूपमा हटाउनुपर्छ।’
आयोगले उम्मेदवार, दल, भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताएको छ। यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत लाइक र कमेन्ट गर्न समेत पाइँदैन।
आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाका वेला शान्ति कायम राख्न मतदानको समयभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।
उम्मेदवारले प्रचार सामग्री हटाए नहटाएको तथा नयाँ प्रचार सामग्री राखेको सम्बन्धमा निगरानीको जिम्मेवारी नेपाल प्रहरी र नेपाली सेनाको साइबर ब्युरोलाई निर्देशन दिइएको आयोगले जनाएको छ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरिका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।