न्यालुमा हिंउ जम्दा, हेलिकोप्टरमार्फत कर्मचारी पुगे मतदान केन्द्र

२९ कात्तिक २०७९ मंगलबार
हुम्ला । हिमालपारिको लिमी गाउँमा मंसिर ४ गतेको हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचनका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री पुगेको छ ।हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरले पुर्याएको हो । मतपत्र, अनुसूची फारमसहित आयोगले पठाएका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालयले हुम्लाले जनाएको छ ।
लिमीमा मतपत्रलगायत निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । निर्वाचन कार्यालयले मतपत्र, मतदाता परिचयपत्रलगायत आयोगले पठाउनुपर्ने सबैखाले निर्वाचन सामग्री हेलिकप्टरमार्फत पुगेको छ ।
सेनाको हेलिकोप्टरले मंगलबार सदरमुकाम सिमकोट हुँदै नाम्खाको लिमीको हल्जीगाउँमा मतपत्रसहितको निर्वाचन सामग्री झारेको छ ।
लिमी जानको लागि त्यस क्षेत्रका मुख्य दुईवटा न्यालु लेक र नारा लेकमा बाक्लो हिउँ जमेका कारण नेपाली सेनाको हेलिकोप्टरले ओसारेको जिल्ला निर्वाचनका कार्यालयका निमित्त अधिकारी श्याम बहादुर रानाले बताउनुभयो । उहाँका अनुसार, प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेपछि आज (मङ्गलबार) विहानैदेखि यहाँका मतदान केन्दमा ओसारिएको हो ।
पहिलो फलाइटमा नेपाली सेनाका दश जना सेनालाई ओसारेको थियो । भने दोस्रो फलाइटमा मतपेटीका,मतपत्रका साथै मतदानअधिकृत, अन्यकर्मचारी ओसारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
लिमिमा खटिएका कर्मचारी र सुरक्षकर्मीलाई त्यहाँ पुग्न समस्या भएपछि सो व्यवस्थाका लागि यसअघि जिल्लाबाट माग भएको थियो । आयोगले जिल्लाको मागअनुुसार हेलिकोप्टरको व्यवस्था गरेको हो । हेलिकोप्टरको व्यवस्था नभएको भए लिमीमा निर्वाचन गर्न सम्भव हुने थिएन ।
पैतालीस जना कर्मचारी र सुरक्षाकर्मी लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका छन् । लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी ढुवानी गरिएको हो ।
आयोगले कर्मचारीलाई निर्वाचनका लागि लिमी पुर्याउने मात्र नभई मतदान कार्य सम्पन्न भएपछि मतपेटिका र कर्मचारीलाई समेत हेलिकोप्टरबाटै ल्याउने भएको हो । लिमी जाने दुुबै नाका, ४ हजार ६ सय मिटर अग्लो नारा र ५हजार मिटर अग्लो न्यालुु लेकमा ४ देखि ५ फिट हिउँ जमेको छ । निर्वाचनको प्रचार प्रसारका लागि दलका उम्मेदवार र नेतासमेत लिमी पुग्न सकेका छैनन् ।