माओवादी केन्द्रको प्रदेश सम्मेलन आज,प्रचण्डद्धारा भर्चुअल उद्घाटन(फोटोफिचर)
मंसिर २५, २०७८ शनिबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन अध्यक्ष पुष्पकलम दाहल (प्रचण्ड)ले भर्चुअल उद्घाटन गर्नुभएको छ ।
सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन शुरु भएको छ ।
अधिवेशनको मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरि १० प्रदेशबाट पार्टीको रिर्पोटिङ्ग राख्ने क्रम जारी रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुनेछन् ।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।