दार्चुलामा पहिरोले पुरिएर ३ जनाको मृत्यु
२०७८असार २४बिहीबार
दार्चुला । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।
नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षका गेउली ठगुन्ना र उनका तीन महिनाका नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिनुभयो ।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षका लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएसपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षका हरमती ठगुन्ना सामान्य घाइते भएको उहाँले बताउनुभयो । यस्तै नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिनुभयो ।