नरेन्द्र केसी

२०७८असार २३ गते बुधबार

दाङ, २३ असार । अविरल बर्षातपछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ । पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ ।
क्षति पुगेको जानकारी पाएपछि स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङले जानकारी दिनुभयो ।
‘दाङको राप्ती र गढवा पालिकाको सिमा राप्ती नदीमा बनेको देशकै दोस्रो लामो सिसहनियाँ पुल जोडने हुलाकी मार्गको एप्रोच आजको बाढीले भत्काउँदा यातायात आवागमन बन्द भएकोले शीघ्र मर्मतको काम गर्न पुल डिभिजन नेपालगन्जलाई अनुरोध गरिएको छ’– उहाँले भन्नुभयो । अविरल बर्षातका कारण दाङका खोलाहरु जलमग्न भएका छन् । बर्षा शुरु भएयता दुःख दिन थालेको पत्रेखोलामा पुनः आवागमन अवरुद्ध भएको छ । केही दिन यातायात बन्द गरेर कचवे बनाइए पनि ठूलो भेलका कारण यातायात प्रभावित भएको छ ।बन्द गरिएको यातायात २३ असार विहानदेखि सञ्चालनमा आए पनि ठूलो भेलका कारण अवरुद्ध भएको छ । सम्झौता भएको सात बर्षसम्म पनि पुल नबन्दा यो खोला दाङका लागि बर्षातको दुःखका रुपमा देखिएको छ ।कालाखोलामा पनि केहीबेर यातायात अवरुद्ध भएको थियो । खोला पुलभन्दा माथि आएपछि यातायात अवरुद्ध भएको हो । यो खोलामा भेन्टेड कजवे रहेको छ । त्यस्तै घोराहीको चमैसोता बढेर बस्तीमा पसेको छ ।विहानदेखि परेको पानीका कारण राप्ती र बबईमा जल सतह बढेको छ भने बजार क्षेत्रमा पनि उपयुक्त ढल निकासको अभावमा डुबानको समस्या देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस