सिस्नो प्रशोधनमा व्यस्त छन् हुम्ली महिला

रेशमराज रोकाया

 २०७८बैशाख,१७शुक्रबार
हुम्ला  । हुम्लाका महिला सिस्नो प्रशोधन गरेर आयआर्जनमा लागेका छन् । सिमकोट गाउँपालिका भित्र रहेका महिलाले करिब २ वर्ष अघि देखी स्थापना गरेको महिला सिस्नो समूह मार्फत हाल सिस्नो प्रशोधन गर्न थालेका छन् । समूहले खरिद गरेको प्रशोधन मेसिनमा हाल सिमकोट गाउँपालिकामा रहेका ३३ जना महिलाले सिस्नो प्रशोधन गरी आयआर्जन गर्नको लागि सीप सिकिरहेका छन् । गाउँघरमा प्रशस्त मात्रामा हुने सिस्नोको उपयोगिता थाहा नहुँदा त्यसै खेर जाने गरेको भएता पनि हाल सिस्नोको उपयोगिता विस्तारै बढ्दै गएको कारण सिस्नोको प्रशोधनमा महिला जुटेका छन् । स्वत स्फुर्त रुपमा महिलाले गठन गरेको समूहले सिस्नोको प्रशोधन मात्रै नभएर विक्रि वितरण गर्न पनि थालेको छ । प्रति किलो २ सय रुपैयाँमा विक्रि हुने महिला सिस्नो समूहले हुम्लाका विभिन्न स्थानमा तालिम समेत प्रदान गर्दै आएको छ ।

घरको सानो तिनो खर्च टार्नको लागि यो तालिम र सिस्नो प्रशोधन उपयोगी हुने विश्वास लिएर सिप सिकिरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको आर्थिक सहयोगमा सिस्नो प्रशोधन सिकिरहेकी सहभागि मेशु रावतले बताईन् । खेतबारीमा खेर गईरहेको सिस्नो टिपेर प्रशोधन गरी बालबालिकाो विद्यालयको शुल्क लगायत अन्य खर्चको लागि सिस्नो विक्रि पश्चात सहयोग भईरहेको तालिमका प्रशिक्षक सिमकोट ५ का प्रशिक्षक ज्ञानु रोकायाले बताईन् । कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयलाई महिलाको उत्थानको लागि कुनै पनि आर्थिक प्राविधिक सहयोग नहुँदा आफुहरुले उद्योगको वृत्तीविकास गर्न नसकिरहेको समूहका सदस्यले बताएका छन् ।

अति नै स्वादिष्ट परिकारको रुपमा मानिने सिस्नोको सेवनले वाथ रोग सन्चो हुने गरेको छ । दमको रोगी, दिर्घरोगीको लागि समेत अति नै उपयोगी हुने गरेको छ । भिटामिन ए को उच्च मात्रा हुने सिस्नोको प्रचार प्रसार र प्रवर्धन गर्न सकिएमा हुम्लाका अधिकाँश वेरोजगारले आयआर्जन गर्न सक्ने सम्भावना रहेको छ । हुम्लाका उच्च देखी न्यून उचाई रहेको भागमा पाईने विभिन्न प्रजातीको सिस्नो पाईने गरेको छ । उच्च भागमा पाईने पार्र्नी सिस्नो, झाले सिस्नो र आल्ले सिस्नोबाट विभिन्न परिकारको तरकारी उच्पादन गर्नको लागि महिला समूह लागि परेको छ ।

सिस्नोको बजार पाँच तारे होटेल र अन्य तारे होटेल भएको कारण हुम्लामा त्यस्ता खालका होटेल नहुँदा हाल विक्रिमा समस्या भईरहेको छ । ढुवानीको लागि हवाई माध्यम प्रयोग गर्नु पर्ने भएको कारण हुम्लाका विभिन्न अर्गानिक उत्पादनको बजारीकरण हुन नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण प्रमुख धुर्वकुमार बाठामगरले बताए । हाल यो प्रकृतीको तालिम पहिलो पटक प्रदान गरिएको र यसबाट सीप सिकेका महिलाले आगामी दिनमा घरखर्च यहि उत्पादनबाट लिन सक्ने विश्वास बाठामगरले बताए ।

औषधिय गुण भएको सिस्नोको विक्रि र बजारीकरणको लागि राज्यले पहल गर्नु पर्ने र हुम्लाका महिला पनि आयआर्जन गरी सम्वृद्ध नेपाल बनाउने सपनामा सहभागि हुने निश्चित रहेको मुख्य प्रशिक्षक जयदेवी शाहीले बताए । हाल जिल्ला बाहिर घर भई हुम्लामा काम विशेषले आउने व्यक्तिले नासोको रुपमा पनि सिस्नो किन्ने गरेको पाईएको छ । शहरी क्षेत्रका अर्गानिक पसलमा यहाँको उत्पादन पुर्याउन सकिएमा हुम्लाका महिलाको आयआर्जनमा टेवा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस