कांग्रेस छाड्दै मंगल बहादुर शाही रास्वपामा प्रवेश

फिल्को मिसन

२०८३ कार्तिक १५
हुम्ला। नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका मंगल बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका–५ निवासी शाहीले कार्तिक १४ गते कांग्रेस छाड्दै रास्वपामा प्रवेश गरेका हुन्।
स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म विभिन्न अवसरमा प्रतिस्पर्धा गरेका शाहीले पटक–पटक निर्वाचनमा पराजय व्यहोरे पनि आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै आएका थिए। कांग्रेसको संगठनात्मक गतिविधि तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएका उनले लामो समय पार्टीमा योगदान गरे पनि अपेक्षित अवसर र जिम्मेवारी नपाएको अनुभूति गरेपछि नयाँ राजनीतिक निर्णय लिएको बताइएको छ।

राजनीतिसँगै कानुनी क्षेत्रमा सक्रिय शाही जिल्ला अदालत हुम्लामा वैधानिक वकिलका रूपमा कानुनी परामर्श प्रदान गर्दै आएका छन्। कानुनी क्षेत्रको अनुभव र विभिन्न तहका निर्वाचनमा सहभागिताले उनको राजनीतिक यात्रालाई थप अनुभवयुक्त बनाएको छ।
लामो समय कांग्रेसमा आबद्ध रहेका शाहीको रास्वपा प्रवेशलाई हुम्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उनको पार्टी परिवर्तनले जिल्लाको राजनीतिक समीकरण र आगामी राजनीतिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चर्चामा छ।
रास्वपामा प्रवेश गरेसँगै शाहीको राजनीतिक जीवनमा नयाँ अध्याय सुरु भएको छ। अब नयाँ पार्टीमा उनले कस्तो भूमिका निर्वाह गर्नेछन् र आफ्नो राजनीतिक अनुभवलाई कसरी उपयोग गर्नेछन् भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ

प्रतिक्रिया दिनुहोस