इरानमा हिंसात्मक प्रदर्शन, ५ सयभन्दा बढीको मृत्यु
पुस २८, २०८२, सोमबार
एजेन्सी । इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकार विरोधी प्रदर्शन उग्र बनेको छ। पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन्।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधारको प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था परिवर्तनको माग गर्दै सडक आन्दोलन जारी राखेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा ‘चाँडै’ भन्ने रहस्यमयी सन्देश पोस्ट गरेका छन्। ट्रम्पले इरानी सरकारले नागरिकमाथि दमन जारी राखे अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उता, तेहरानले अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। साथै अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाउने धम्कीसमेत दिएको छ। मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।