भारत–अमेरिका तनाबकै बीच पुटिनको भारत आगमन, मोदीद्वारा भव्य स्वागत
मंसिर १७, २०८३
नयाँ दिल्ली। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत–अमेरिका कूटनीतिक सम्बन्धमा उत्पन्न रहेको तनाबकै बीच दुईदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्। उनी पालम विमानस्थलमा अवतरण गर्नेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए।
अवतरणपछि दुवै नेताबीच हात मिलाउँदै अँगालो मारेर मैत्रीपूर्ण संकेत प्रदर्शन गरिएको थियो। त्यसपछि पुटिन र मोदी एउटै सवारी साधनमार्फत प्रधानमन्त्री निवासतर्फ प्रस्थान गरे, जहाँ दुबै नेताबीच एक्लाएक्लै वार्ता भारतीय समय अनुसार राति साढे ८ बजेसम्म चल्ने कार्यतालिका तय गरिएको छ।
बैठकपछि पुटिन रातिको बसाइका लागि होटल फर्कनेछन्। शुक्रबार बिहान उनले राजघाटमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यही दिन पुटिनलाई भारतीय सरकारद्वारा औपचारिक स्वागत गरिनेछ र त्यसपछि २३औँ भारत–रूस शिखर सम्मेलन सम्पन्न हुनेछ। प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन तथा उनको प्रतिनिधिमण्डलका लागि दिवाभोजको आयोजना गर्ने तय भएको छ।
शिखर सम्मेलनपछि पुटिनले रूसको राज्य प्रसारकको इन्डिया च्यानल उद्घाटन गर्नेछन्। त्यसपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उनको सम्मानमा औपचारिक भोज दिने कार्यक्रम छ।
करीब २८ घण्टे औपचारिक भ्रमण सम्पन्न गरी पुटिनले शुक्रबार राति करिब ९स्३० बजे नयाँ दिल्लीबाट प्रस्थान गर्नेछन्।
पुटिनको यो भ्रमणको उद्देश्य दुई देशबीचको दीर्घकालीन रणनीतिक र आर्थिक साझेदारीलाई थप मजबुत बनाउनु रहेको भारतीय अधिकारीहरूको भनाइ छ। विशेषगरी रक्षा सहयोग विस्तार, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट सुरक्षित राख्ने उपाय र साना ‘मोड्युलर रिएक्टर’को विकासमा सम्भावित सहकार्यबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।
भारत–रूसबीचको २३औँ शिखर सम्मेलनलाई पश्चिमी मुलुकहरूले कूटनीतिक दृष्टिले विशेष ध्यानका साथ अवलोकन गरिरहेका छन्। बैठकपछि व्यापार, रक्षा र प्रविधि क्षेत्रलगायत विभिन्न महत्वपूर्ण विषयमा सम्झौता हुने अनुमान गरिएको छ।