एकलौटी निर्णयबाट प्रतिनिधि मनोनयन, पोखरेल समूहको तीव्र आपत्ति
मंसिर २७,२०८२ शनिबार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा महाधिवेशन प्रतिनिधि मनोनीत गरेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा आपत्ति जनाएको छ । शुक्रबार सम्पन्न नेकपा एमाले सचिवालय बैठकमा ओली र पोखरेल समूहबीच ६०–४० को अनुपातमा महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने सहमति भएको थियो । तर सो सहमति विपरीत अध्यक्ष पक्षले एकलौटी रूपमा निर्णय गरी प्रतिनिधिको सूची सार्वजनिक गरेको भन्दै पोखरेल समूहले असहमति जनाएको हो।
पोखरेल समूहका नेता तथा पत्रकार राजेश राई ले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको सूचीप्रति गम्भीर असहमति रहेको जानकारी दिए। उनका अनुसार सचिवालय बैठकमा १०८ जना प्रतिनिधिको टुंगो अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर संयुक्त रूपमा गर्ने सहमति भएको थियो।
‘सोही सहमतिअनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल हुने कुराकानी भएको थियो,’ उनले भने, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले तीव्र आपत्ति जनाउनुभएको छ।’
पोखरेल समूहले सहमतिअनुसार पुनः छलफल गरेर मात्र महाधिवेशन प्रतिनिधि मनोनयन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।