मनाइयो हुम्लामा पनि ११ औं राष्ट्रिय उद्योग दिवस
मंसिर १०, २०८२
सिमकोट । हुम्लाको सिमकोटमा ११औं राष्ट्रिय उद्योग दिवस मंगलबार विभिन्न कार्यक्रमसहित मनाइएको छ । “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले यस वर्ष उद्योग दिवस मनाएको हो ।
उक्त दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा मानसरोवर होटेलमा सभा तथा अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । “हुम्ला जिल्लामा औद्योगिक विकासका सम्भावना र चुनौती” विषयमा आयोजित अन्तक्र्रियामा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, एमाले हुम्ला अध्यक्ष ज्ञानी बुमी,उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारी लगायतका बक्ताहरुले आफ्नो भनाइ राखेका थिए।
बक्ताहरुले हुम्लामा औद्योगिक सम्भावना, चुनौती र अवसरका विभिन्न पक्षबारे धारणा राखेका थिए। कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दिवसको विभिन्न प्ले–कार्डसहित र्याली निकालिएको थियो भने बिहान सिमकोट बजार क्षेत्रमा प्रभातफेरी समेत आयोजना गरिएको कार्यालयले जनाएको छ ।