फागुन २१ निर्वाचनः हुम्लामा दुई नयाँ मतदान स्थल सिफारिस
कात्तिक २९, २०८२
हुम्ला । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि हुम्लामा दुई नयाँ मतदान स्थल थप गर्ने सिफारिस जिल्ला स्तरीय समितिले गरेको छ । मतदाता सङ्ख्या बढी र मतदान स्थलसम्म पुग्न तीन घण्टा हिँड्नुपर्ने भएकाले यो निर्णय गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाका अनुसार, चङ्खेली गाउँपालिका–२ को महादेव मावि दार्मबाट छुट्याएर देबकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदान स्थल कायम गर्न सिफारिस गरिएको छ । त्यस्तै, नाम्खा गाउँपालिका–१ का ताङ्गिन गाउँका मतदाताका लागि नमोदाछेमु आवि नयाँ मतदान स्थलको रूपमा सिफारिस गरिएको छ ।
एक हजार भन्दा बढी मतदाता भएका केन्द्रमा मतदान केन्द्र क र ख निर्धारण गर्ने सिफारिस पनि बैठकले गरेको छ । हुम्ला जिल्लामा हालसम्म ५८ मतदान स्थल रहेका छन् र जिल्लाको मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए ।