राष्ट्रपतिका लागि शीर्ष नेताहरुको रिले दौड जारी

फिल्को मिसन

फागुन १०,२०७९

काठमाडौं। राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने दुइ दिन बाँकी रहँदा दलका शीर्ष नेताहरुको रिले दौड चलेको छ । राष्ट्रपति प्राप्तिका लागि एक अर्कोबीच सहयोग जुटाउन सत्ता गठबन्धन र गठबन्धन बाहिर रहेका दलहरुबीच तीब्र दौडधुप चलेको हो ।

बुधबार बिहान देखी साँझ सम्ममा प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सँग नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत दलका शीर्ष नेताहरुले छुट्टा छुट्टै छलफल गरे । प्रचण्डलाई भेट्न बुधबार बिहान सत्ता साझेदार दलका एमाले अध्यक्ष केपी ओली बालुवाटार पुग्नुभएको थियो । लगत्तै नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीसँग भेट गर्नुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकेर उक्त दलका नेताहरु पुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बमराही पुगेका थिए । त्यस अघि नै सभापति देउवालाई लोकतान्त्री समावजादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरुले भेट गरेर फर्कीएका थिए । समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरुसँगको भेटपछि कांग्रेसका सभापति देवउवा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा लगायत नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बुधबार साँझ बालुवाटार पुगे ।

शीर्ष नेताहरुको यो दौडधुपमा सबैले आ–आफ्नै प्रस्ताव पारितलाई प्राथमिकता राखेका छन् । राष्ट्रिय सहमतिको प्रस्ताव बोकेर बसेका प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सबैदलका नेताहरुलाई फरक फरक कोणबाट कुरा गरेर पठाउनुभएको छ । उता कांग्रेस र एकीकृत समाजवादीका नेताहरुको छलफलमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री छँदा संसद विघटन गरेको विषयले स्थान पाएको नेताहरुले बताएका छन् ।

उक्त छलफलमा सबैदलहरु संविधान र लोकतन्त्रको विरुद्धमा हुनसक्ने खतरालाई रोक्न सतर्क हुनुपर्ने निष्कर्षमा पुगेको नेकपा एकीकृत समाजवादीका नेता घनश्या भुषालले बताउनुभयो । एमालेलाई अहिलेको सत्ता–भागबन्डाभन्दा बाहिर राखेर अघि बढ्न सकिने कुरामा नेताहरु सहमत नजिक पुगेको बताइएको छ । कांग्रेस र एकीकृत समाजवादीबीच बिहीबार दोस्रो बैठक बस्ने छलफलमा सहभागि नेताहरुले जनाएका छन् । कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई फुटाएर राज्य शक्तिमा पुग्ने दाउमा छ भने नेकपा एमाले कुनैपनि हालतमा गठबन्धनको तर्फबाट आफ्नै पार्टीको राष्ट्रपति बनाउने कसरतमा छ ।

तर, सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादीले एमालेलाई राष्ट्रपति नदिने बताइसकेकाले एमालेले विकल्पको खोजीमा भौतारिइरहेको छ । गठबन्धनमा केहीगरी कुरा नमिले कांग्रेसलाई बाहिरै राखेर मौजुदा गठबन्धलाई कायम राख्दै हिजो आफ्नै दुष्मन कहलिएका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई नै भएपनि राष्ट्रपति दिएर जानसक्ने छलफल चलाएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा माधव नेपाललाई अघि सार्न सक्ने संकेत गरेको एमाले नेताहरुले बताएका छन् ।

राष्ट्रपति चुनावमा उठ्ने उम्मेदवारले संविधान र लोकतन्त्र रक्षाको भावना बोक्न सक्नुपर्छ भन्ने हाम्रो पार्टी बैठक निर्णयलाई केन्द्रमा राखेर कांग्रेसका नेताहरुसँग छलफल भएको भुषलले जानकारी दिनुभयो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओलीले नेपालको नाम गम्भीरतापूर्वक प्रस्ताव नगरेको विषयमा समेत चर्चा भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल सहित माओवादी नेताहरुसँग कांग्रेसका नेताहरुको छलफल राती अवेरसम्म जारी छ ।

प्रतिक्रिया दिनुहोस