बझाङमा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गयो

फिल्को मिसन

 सोमबार, कात्तिक ३०, २०८३
बझाङ। बझाङको बुंगल नगरपालिकामा अटो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। ब्रेक फेल भएर अटो भिरमा खस्दा चार जनाको ज्यान गएको हो।

सोमबार बिहान करिब १० बजेर २० मिनेटमा बुंगल नगरपालिका–१०, टुमेडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भई भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुंगल नगरपालिका–१० की अन्दाजी ३५ देखि ४० वर्षीया राजमती महरा, १५ वर्षीया तारा महरा, ५ वर्षीया डल्ली महरा र अन्दाजी ४ देखि ५ वर्षीय रियास महराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन्।

अटो चालक बुंगल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा अटोमा सवार विक्रम महरा भने सकुशल रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस