हुम्लामा नेपाली कम्युनिष्ट पार्टीको सदस्यता नवीकरण अभियान तीव्र बनाउने निर्णय
फिल्को मिसन
२०८३ असोज ९
सिमकोट ।नेपाली कम्युनिष्ट पार्टी हुम्लाले पार्टी सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। जिल्ला संयोजन समितिको बैठकले पुराना पार्टी सदस्यको सदस्यता नवीकरणसँगै नयाँ सदस्य विस्तारलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरण अभियान अघि बढाउने निर्णय गरेको हो।
जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाको अध्यक्षतामा असोज ९ गते बसेको जिल्ला संयोजन समितिको बैठकमा २९ सदस्यीय जिल्ला संयोजन समितिमध्ये २१ जनाको सहभागिता रहेको थियो। बैठकमा १३ जना सदस्यले धारणा राखेका थिए।
बैठकले पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्य, पालिका तथा प्रदेश समिति सदस्य र जिल्ला समिति सदस्यलाई टोल–टोलसम्म परिचालन गर्ने निर्णय गरेको छ। सदस्यता नवीकरणसँगै संगठन विस्तार तथा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ।
बैठकमा हुम्लामा पार्टी सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराइएको थियो। जिल्ला संयोजन समितिका अनुसार हुम्लामा ठूलो संख्यामा पार्टी सदस्यले सदस्यता नवीकरण गरिसकेका छन् भने बाँकी सदस्यको समेत नवीकरण कार्यलाई अभियानकै रूपमा अघि बढाइने भएको छ।
त्यस्तै, दशैं–तिहारपछि अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ। पालिका तहमा हुने उक्त भेलाका लागि पालिका समितिलाई परिचालन गर्ने तथा प्रदेशस्तरीय बैठक आयोजना गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र स्थानीय निर्वाचनको तयारी अघि बढाउने निर्णय बैठकले गरेको छ।
जिल्लामा पार्टी एकता तथा संगठन विस्तारका लागि गतिविधि बढाउने निर्णयसमेत गरिएको छ। पालिका तथा वडा तहमा पार्टी गतिविधि सक्रिय बनाउँदै नयाँ राजनीतिक परिस्थिति र चुनौतीअनुसार पार्टीको रणनीति तथा कार्यनीतिलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको थियो।
बैठकले रसुवागढी बाढीमा परी मृत्यु भएका ताँजाकोट गाउँपालिका–२ का भन्सार अधिकृत नन्दकुल शर्माको परिवार र सर्केगाड गाउँपालिका–५ गोठीका पूर्व जनमुक्ति सेना कम्पनी कमान्डर मानसिंह ऐडीको परिवार सँग भेटघाट गरी समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, विभिन्न जनवर्गीय संगठन तथा मोर्चामा आबद्ध युवालाई समेटेर युवा संगठन निर्माण गर्ने निर्णय गरिएको छ। देश तथा विदेशमा रहेका युवालाई सामाजिक सरोकारका विषयमा जोड्दै वैचारिक रूपमा आकर्षित गर्न डिजिटल प्लेटफर्म विकास गर्ने निर्णय पनि बैठकले गरेको छ।
पार्टी सदस्य तथा संगठनको मूल्याङ्कनका लागि आवश्यक मापदण्ड तयार गर्ने विषयमा टोल तहदेखि लिखित सुझाव संकलन गर्ने निर्णय बैठकले गरेको छ। लामो समयदेखि रोकिएका वडा, पालिका तथा जिल्ला अधिवेशन पार्टी केन्द्र र प्रदेशको निर्देशन तथा कार्ययोजनाअनुसार अघि बढाउने निर्णयसमेत गरिएको छ।
जिल्ला संयोजक डा. दीपेन्द्र रोकायाले पार्टी सदस्यता नवीकरण अभियान सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरेका छन्। बैठकले आगामी दिनमा पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै संगठन विस्तार तथा सुदृढीकरणमा केन्द्रित हुने निर्णय गरेको जनाइएको छ।