घरमाथि ढुंगा खस्दा तीन घाइते
गम्भीर जेसीभी चालकलाई हेलिकप्टरबाट सुर्खेत लगियो
११ असोज २०८३, आइतबार
हुम्ला । अदानचुली गाउँपालिका–४ मछारीमा शनिबार राति घरमाथिबाट ठूलो ढुंगा खस्दा जेसीभी चालकसहित तीन जना घाइते भएका छन्। घटनामा दैलेखको दुल्लु घर भएका जेसीभी चालक बखत खड्का गम्भीर घाइते भएका छन्।
रिल्म हुँदै विगाठीसम्म सडक निर्माणमा खटिएका कामदारहरू मछारी पुलपारिको एक घरमा सुतेका बेला राति करिब ३ बजे माथिबाट खसेको ठूलो ढुंगा घरको छतमा बज्रिएको थियो। ढुंगा खस्दा घरभित्र रहेका खड्कासहित रुकुम पश्चिमका रोसन राना र हुम्ला सिमकोटका रमेश शाही घाइते भएका हुन्।
राना र शाहीको अवस्था सामान्य रहेको बताइएको छ भने खड्काको टाउकोमा गम्भीर चोट लागेको स्थानीय दिनेश पाण्डेले जानकारी दिनुभयो।
घटनालगत्तै स्थानीयले घाइतेलाई स्टेचरमा राखेर श्रीनगर स्वास्थ्य चौकी पुर्याएका थिए। स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि तीनै जनालाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनुभयो।
श्रीनगर स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि घाइतेलाई थप उपचारका लागि रिफर गरिएको र ठेकेदार कम्पनीलाई जानकारी गराएपछि कम्पनीकै पहलमा हेलिकप्टरमार्फत सुर्खेत लगिएको उपाध्यक्ष रोकायाले बताउनुभयो।
उक्त सडक निर्माणको ठेक्का हुम्लाको कङ्ग्री निर्माण सेवाका छिरिङ लामाले लिनुभएको छ। सडक निर्माणमा खटिएका कामदार बसेको घरमै रातिको समयमा माथिबाट ढुंगा खसेपछि स्थानीयमा त्रास बढेको छ।