सीमावर्ती क्षेत्रमा संयुक्त अनुगमन : हुम्लामा ९१ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा बरामद
२०८३ भदौ १, सोमबार
हुम्ला । हुम्लाको सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइएको करिब ९१ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा सात दिनभित्र बरामद गरिएको छ । बरामद गरिएका मदिराजन्य पदार्थमध्ये ३९ लाख ६६ हजार रुपैयाँ बराबरको मदिरा तथा बियर आइतबार जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले नाम्खा गाउँपालिका–२ को छुङ्सा चौर क्षेत्रमा लुकाइराखिएको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा, ५४ कार्टुन बडवाइजर क्यान बियर र एक कार्टुन ह्विस्की बरामद गरी नष्ट गरेको हो।

प्रमुख जिल्ला अधिकारी गुरागाईंका अनुसार नष्ट गरिएका सामग्रीमा ७ हजार २७२ बोतल अवैध चिनियाँ मदिरा, १ हजार २९६ क्यान बडवाइजर बियर तथा १२ बोतल ह्विस्की रहेका छन्।
बरामद मदिराजन्य पदार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रशासनले जनाएको छ।

यसअघि साउन २८ गते सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा गएको टोलीले नाम्खा गाउँपालिका–२ को नावलथाङ क्षेत्रबाट ५९४ कार्टुन अवैध चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर बियर बरामद गरेको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो सात दिनमा मात्रै करिब एक करोड रुपैयाँ (९१ लाख ५९ हजार रुपैयाँ) बराबरको अवैध चिनियाँ मदिरा बरामद हुनु सीमावर्ती क्षेत्रमा हुने मदिरा तस्करीविरुद्धको अभियानको महत्वपूर्ण उपलब्धि हो। प्रशासनले सीमाक्षेत्रमा निगरानी थप कडा बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।