हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद, मूल्य ५२ लाख
२०८३ साउन २९, शुक्रबार
सिमकोट । हुम्लामा प्रहरीले करिब ५२ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–२ स्थित नावलथाङ क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा मदिरा फेला पारिएको हो।
प्रहरीका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा तथा १९४ कार्टुन बडवाइजर (बियर)का ४ हजार ६५६ बोतल बरामद गरिएको छ। बरामद मदिराको अनुमानित बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार उक्त मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। उनका अनुसार स्थानीय बजार मूल्यका आधारमा चिनियाँ मदिराको प्रतिवोतल करिब ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोतल ३५० रुपैयाँ पर्ने अनुमान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार बरामद गरिएको अवैध मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिनेछ ।

स्थानीयवासीका अनुसार हुम्लाको उत्तरी सीमा क्षेत्रका हिल्सा, लिमी–लाप्चा, चुवाँखोला–ताक्कु नाक्ला र नेप्का–टाँके लगायतका नाकाबाट वर्षेनी अवैध रूपमा चिनियाँ मदिरा भित्रिने गरेको छ। सुरक्षा निगरानी कमजोर हुनु, सीमाक्षेत्रमा प्रभावकारी नियन्त्रण नहुनु तथा केही व्यापारीको मिलेमतोका कारण करोडौं रुपैयाँ बराबरको अवैध कारोबार हुने गरेको स्थानीयको भनाइ छ।

स्थानीय स्रोतहरूले चिनियाँ मदिरासँगै सुन, विद्युतीय सामग्री (भेप लगायत) तथा अन्य अवैध वस्तुहरू पनि यिनै नाकाबाट नेपाल भित्रिने गरेको दाबी गरेका छन्। यद्यपि, यस विषयमा सम्बन्धित सुरक्षा निकायले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।