प्रदेश सरकारका मन्त्रालय बाँडफाँडमा प्रचण्ड र ओलीबीच सहमति
२०८३,साउन २६,मंगलबार
काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तय गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दुवै दलका सिट संख्यालाई मुख्य आधार बनाइने भएको छ।
मन्त्रालय बाँडफाँडका क्रममा भने प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार बनाउने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनका आधारमा गणना गरिने उल्लेख छ।
मन्त्रालय बाँडफाँड गर्दा दुवै दललाई पालैपालो प्राथमिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ। जसअनुसार मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले पहिलो मन्त्रालय छनोट गर्नेछ भने मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्नेछ।
त्यसपछि यही क्रम पालैपालो दोहो¥याउँदै प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको दुई दलले जनाएका छन्।
यसअघि साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्वका विषयमा शीर्ष तहमा सहमति भएको थियो। उक्त सहमतिलाई कार्यान्वयन गर्ने क्रममा मन्त्रालय बाँडफाँडको आधारसमेत तय गरिएको हो।