अदानचुलीको भेरामा पहिरो जाँदा खर्काला घाइते, ६९ बाख्रा बेपत्ता
२०८३ साउन २४, आइतबार
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–५, भेरास्थित खर्कमा पहिरो जाँदा एक जना खर्काला घाइते भएका छन् भने ६९ वटा बाख्रा पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
आइतबार बिहान करिब ११ बजे पहिरो जाँदा अदानचुली गाउँपालिका–५, करगईका ६३ वर्षीय खर्काला टेकबहादुर शाही घाइते भएका हुन्। हिजो रातिदेखि निरन्तर वर्षा भएपछि माथिबाट आएको पहिरोमा परेर शाही घाइते भएको बताइएको छ।
खर्कमा राखिएका बाख्रालाई वनतर्फ चराउन लैजाने क्रममा अचानक माथिबाट पहिरो खसेको घटनास्थलमा रहेका खर्काला बिरबल रोकायालाई उद्धृत गर्दै स्थानीय दीपबहादुर रोकायाले जानकारी दिए।
पहिरोमा परेका शाहीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै गाउँबाट करिब २० देखि २२ जनाको टोली घटनास्थलतर्फ गएको र घाइते शाहीलाई बोकेर गाउँतर्फ ल्याउने काम भइरहेको रोकायाले बताए।
शाही र रोकायाका गरी खर्कमा ७३ वटा बाख्रा राखिएका थिए। समाचार तयार पार्दासम्म पहिरोबाट तीन वटा बाख्रा मात्र निकाल्न सकिएको छ भने बाँकी ६९ वटा बाख्रा पहिरोमा पुरिएर बेपत्ता भएको स्थानीयले बताएका छन्।
घटनास्थल गाउँभन्दा निकै माथि र दुर्गम क्षेत्रमा रहेकाले क्षतिको थप विवरण आउन बाँकी रहेको बताइएको छ।
वर्षायाममा लेक तथा खर्कमा पशुवस्तु राख्ने परम्परागत चलनअनुसार स्थानीयले जेठ महिनादेखि आफ्ना पशुवस्तु खर्कमा लैजाने गरेका छन्। सोहीअनुसार बिरबल रोकाया र टेकबहादुर शाहीले आफ्ना बाख्रा भेरास्थित उक्त खर्कमा राखेका थिए।