सिमकोटमा स्तनपान र पोषण प्रवद्र्धनमा जोड

यज्ञ शाही

२०८३ साउन १९, मङ्गलबार
सिमकोट। विश्व स्तनपान सप्ताहको अवसरमा हुम्लाको सिमकोट गाउँपालिकामा सुनौला हजार दिनका आमाहरूलाई लक्षित गरी स्तनपान तथा पोषण प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ।
सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय सिमकोट तथा एमडीआई नेपाल, गुड नेबर्स इन्टरनेशनल (जीएनआई), एसआईडीसी÷वन हार्ट वल्र्डवाइड (ओएचडब्लुएच) र आधार नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्तनपानको महत्त्व, शिशुलाई सही तरिकाले दूध चुसाउने विधि, उचित ल्याच र सही आसनका विषयमा व्यवहारिक प्रदर्शन गरिएको थियो। साथै, स्थानीय रूपमा उपलब्ध पौष्टिक खाद्य सामग्रीबाट पोषिलो खिर तयार गरी सहभागी आमाहरूलाई वितरण गरिएको थियो।


स्वास्थ्यकर्मीहरूले शिशुले छ महिनापछि सुरु गर्ने पूरक आहार, घरमै उपलब्ध खाद्यान्नबाट सन्तुलित भोजन तयार गर्ने विधि तथा पोषण व्यवस्थापनका विषयमा जानकारी दिएका थिए।
सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले यस्ता कार्यक्रमले आमा तथा शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा प्रभावकारी स्तनपान प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
विश्व स्तनपान सप्ताह हरेक वर्ष “दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ“ भन्ने मूल नाराका साथ साउन १६ देखि २२ गतेसम्म मनाइँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस