मंगलबहादुर शाहीको नेतृत्वमा कर्णालीमा नयाँ सरकार
२०८३ साउन १२,मंगलबार
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ गरी २३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मंगलबार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए। सोही दाबीका आधारमा प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि नेकपा एमालेका यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित नेकपा एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र गरी २ जना सदस्य रहेका छन्।
मुख्यमन्त्री शाही मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित भएका थिए। यसअघि उनी कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।